काठमाडौं । आज महाशिवरात्री पर्व देशभर आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइँदैछ । यो पर्व हरेक वर्ष कृष्ण चतुर्दशीका दिन मनाइन्छ ।
महाशिवरात्रीको अवसरमा काठमाडौंको पशुपतिमा विहानै देखि दर्शनार्थीको घुइँचो लागेको छ । शिवरात्रीमा उपवास गरी रातभर जाग्राम बस्नाले सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।
यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ ।
त्यसै गरी आज नेपाली सेनाले जंगीअड्डा, भद्रकालीमा विशेष समारोहबीच महाशिवरात्री एवं सेना दिवस मनाउँदैछ । सैनिक परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा समारोह सम्पन्न हुनेछ ।
जंगीअड्डाका प्रवक्ता एवं सहायक रथी यामप्रसाद ढकालका अनुसार दिवसको अवसरमा उत्कृष्ट गण तथा गुल्मलाई पुरस्कृत गरिनेछ भने नयाँ स्थापना भएका गणलाई निशानी चिहृन प्रदान गरिनेछ । यो वर्ष दुई वटा नयाँ गण स्थापना भएका छन् ।