
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आइतबारको प्रतिनिधि सभामा बजेटको मध्यावधि समीक्षा प्रतिवेदन पेश गरेका छन् । उनले पेस गरेको प्रतिवेदनमा चालु आर्थिक वर्ष २०७९ र ०८० का लागि ल्याइएको बजेटको आकार घटाएको जानकारी गराएका छन् ।
तत्कालीन अर्थमन्त्री जर्नादन शर्माले चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याएका थिए। नयाँ सरकारले बजेटको आकार १४ प्रतिशतले घटाएको जानकारी गराइएको छ ।
अब बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोड हुने भएको छ। यो पहिलाको बजेटभन्दा २ खर्ब ४४ अर्बले कम हो।
सरकारले जेठमा बजेट ल्याउदा चालु खर्च ११ खर्ब ८३ अर्ब गर्ने भनेकोमा त्यो १० खर्ब २१ अर्ब हुने अपेक्षा गरेको छ। त्यस्तै, पूँजीगत खर्च तीन खर्ब ८० अर्ब विनियोजन भएकोमा तीन खर्ब १३ अर्ब ५० करोड खर्च हुने संशोधित अनुमान छ। वित्तीय व्यवस्थापन तर्फ दुई खर्ब ३० अर्ब २१ करोड बजेट विनियोजन भएकोमा २ खर्ब १४ अर्ब २१ करोड खर्च हुने संशोधित अनुमान छ।
नेपाल सरकारको स्रोतमध्ये राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ४१ अर्ब, वैदेशीक अनुदानतर्फ ३५ अर्ब ४५ अर्ब, वैदेशीक ऋण एक खर्ब ७० अर्ब ५३ करोड ९४ लाख खर्च हुने संशोधित अनुमान छ।
चालु आर्थिक वर्ष २०७९र८० मा सरकारले संघको लागि १२ खर्ब ९५ अर्ब र स्थानीय र प्रदेश तहमा बाँडफाँट हुने सहित भने कुल १४ खर्ब तीन अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। सरकारले बजेट स्रोतको रुपमा चालु आर्थिक वर्ष २०७९र८० मा ५५ अर्ब ४६ करोड वैदेशीक अनुदान, दुई खर्ब ४२ अर्ब वैदेशीक ऋण र दुई खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो।
पौडेलले चालु आर्थिक वर्ष २०७९र०८० मा मुलुकको आर्थिक वृद्धिदर लक्ष्यअनुसार आठ प्रतिशत नपुग्ने बताएका छन्। उनले कोभिडको समयमा लिइएको सहजीकरणमा समयमै उचित निर्णय लिन नसक्दा अहिले समस्या परेको बताए।
२०७९ पुससम्ममा राजश्वको लक्ष्य ६ खर्ब ५१ अर्ब रहेकोमा सोअनुसार संकलन नभएको उनले बताए। ‘लक्ष्यभन्दा राजश्व २४।८ प्रतिशतले कम संकलन भएको छ,’ उनले भने। आर्थिक वर्ष २०२४र२५ पछि पहिलो पटक राजस्व नकारात्मक वृद्धिदर देखिएको पनि अर्थमन्त्री पौडेलले बताए।
राजस्व प्रशासन तथा प्रणालीमा सुधार गर्न पर्ने विगतदेखि नै देखिएको भए पनि यसो हुन नसकेको र आफूले मन्त्रालयको जिम्मेवारीमा आउनासाथ यसलाई उच्च प्राथमिकतामा राखेको पौडेलले बताए।
उनले हाल सार्वजनिक दायित्व व्यहोर्न र ऋणको साँवा(ब्याज भुक्तानी गर्न समस्या परेको बताए। कृषि र पर्यटनमा सुधार हुने देखिए पनि उत्पादनमुलक क्षेत्रमा समस्या देखिएकोले पनि अर्थतन्त्रमा समस्या कायमै रहेको अर्थमन्त्री पौडेलले बताएका छन् ।











