
काठमाडौं । महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको राहदानी विवादमा मुद्दा प्रक्रियागत रुपमै टुंगिएको बताएका छन् ।
आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै लामिछानेविरुद्धको मुद्दा प्रक्रियागत रुपमा नै टुंगिएको जिकिर गरेका हुन्। उनले कुनै राजनीतिक सौदाबाजी र दबावमा परेर रविविरुद्धको मुद्धा नचल्ने निर्णय नगरेको समेत दावी गरे ।
सभापति लमछानेको राहदानी विवादमा प्रहरीलाई सम्पूर्ण अनुसन्धान सकेपछि मात्रै फाइल पेश गर्न भनिएको र त्यसै अनुसार प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गरेको र सोहि प्रतिवेदनका आधारमा मुद्दा नचल्ने निर्णय गरेको महान्यायाधिवक्ता पोखरेलको भनाई छ।
सभापति लामिछानेविरुद्ध किन मुद्धा नचलाएको भन्दै सिन्धुलीका युवराज सफलले सर्वोच्चमा रिट दर्ता गराएका छन् । रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले मुद्धा नचलाउनुको कारणबारे लिखित रुपमा जवाफ पठाउन महान्यायाधिवक्ताको कार्यालय लगायतलाई आदेश गरेको छ ।










