
काठमाडौँ । काठमाडौंको त्रिभुवन विमास्थल नजिकै गोली चलेको छ । आज बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको हो । लागूऔषध कारोबारमा संलग्न समूहका एक जनालाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ । पक्राउ पर्नेमा विकास भगवत रहेका छन् । उनको केएमसी अस्पतालमा उपचार भइरहेको लागू औषध ब्यूरोले जनाएको छ । उनको साथबाट केही मात्रामा लागू औषध पनि बरामद भएको प्रहरीले बताएको छ ।
लागूऔषध कारोबारी भगवतले प्रहरीमाथि गोली चलाएपछि प्रतिउत्तरमा उनको घुँडामुनि गोली हानि नियन्त्रणमा लिइएको लागू औषध ब्यूरोका एसएसपी गोविन्द थपलियाले बताए। खैरो हेरोइन कारोबारमा समूह नै रहेको सूचना पाएपछि प्रहरी ग्राहक बनेर उनीहरु समक्ष पुगेको थियो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेट नजिकबाट प्रहरीले भगवतमाथि गोली प्रहार गरि पक्राउ गरेको जनाएको छ। खैरो हेरोइन कारोबारमा संलग्न समूहका अन्य ब्यक्तिहरु फरार भएका छन् ।










