
काठमाडौं। नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई गैर कानुनी रुपमा सम्पत्ती आर्जन गरेको भन्दै अदालतले दोषी ठहर गरेको छ ।
आज विशेष अदालतले उनलाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीशहरु श्रीकान्त पौडेल, शालिग्राम कोइराला र डा. खुसीप्रसाद थारुको संयुक्त इजलासले खड्कालाई गैर कानुनी रुपमा सम्पत्ती आर्जन गरेकाले १ वर्ष ३ महिना कैद र ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ ६४ पैसा बिगो बमोजिम जरिवाना गराउने आदेश गरेको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए ।
खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ पुस २३ गते १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो ।
प्रवक्ता योगीकाअनुसार खड्काको घर, जग्गा, बैंक मौज्दात र शेयर जफत सबै सरकारले जफत गर्ने छ ।
खड्काले श्रीमती शर्मिला खड्कासहित अनिता लामा सोदेम्बाको नाममा सम्पत्ति लुकाएका थिए ।









