काठमाडौं । नेपाल स्की संघको अध्यक्षमा पूर्वमन्त्री जिवनराम श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
संघको आइतबार सम्पन्न अधिवेशनले आगामी ४ वर्षका लागि अध्यक्षमा श्रेष्ठसहित १९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । निर्वाचित अध्यक्ष श्रेष्ठ नेपाल ओलम्पिक कमिटिका अध्यक्ष समेत् हुन् ।
त्यस्तै संघको उपाध्यक्ष राजु बाबु श्रेष्ठ, शम्भु लामा, माधव अर्याल र रमा भट्टराई निर्वाचित भएका छन् भने संघको महासचिवमा विजय श्रेष्ठ निर्वाचित भए । त्यस्तै सचिवमा वशन्त कार्की र शान्ता मायाँ परियार तथा कोषाध्यक्षमा जितेन्द्र श्रेष्ठ निर्वाचित भएको प्रमुख निर्वाचित अधिकृत बसन्त बहादुर श्रेष्ठले जानकारी दिए ।
यसैगरी कार्यसमितिको सदस्यमा कृपा श्रेष्ठ, लामा काजी शेर्पा, रुक्मती जागरी, नाम्ग्या वाङदी गुरुङ, टासी ग्याल्जेन शेर्पा, वीरबहादुर रावल भोटे, ज्ञानेन्द्र कुमार श्रेष्ठ, फुन्जो लामा र भाइ कृष्ण बलामी निर्वाचित भएका छन् ।
नव निर्वाचित श्रेष्ठले नेपालमा स्की खेलको विकासका लागि नयाँ योजना सहित अघि बढ्ने घोषणा गरेका छन् । उनले नेपालमा स्की आयोजनाका सम्भावित नयाँ स्थानको खोजी गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।
निर्वाचित कार्यसमितिलाई नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य, नेपाल पौडी संघका अशोक वज्राचार्यले सफलताको शुभकामना व्यक्त गरेका थिए ।