
काठमाडौं । राजश्व अनुसन्धान विभागले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पास भएको झण्डै एक कुण्टल सुन बरामद गर्यो ।
एयरपोर्टमा भन्सार कार्यालयको जाँच पार गरेर सुन सिनामंगल पुग्दा विभागको टोलीले बरामद गरेको हो । विभागका महानिर्देशक नवराज ढुंगानाले बताएअनुसार सुन झण्डै ८० देखि १०० किलो छ ।
इतिहासमै नेपालमा पहिलो पटक यति ठुलो परिणाममा सुन तस्करी भइरहेको बरामद भएको बताइएको छ । अनुसन्धान विभागले सुराकीको आधारमा सिनामंगलमा भन्सार एजेन्ट राजेन्द्रकुमार राई र ट्याक्सी चालकसहित ठुलो परिणाममा सुन बरामद गरेको हो। मोटरसाइकल र स्कुटरको पार्टपुर्जामा सुन जोडेर ल्याएको प्रारम्भिक अनुसंन्धानमा खुलेको विभाग स्रोतले बताएको छ। सुन कसको हो भन्ने बिषयमा अनुसंन्धान जारी रहेको छ ।
बरामद सुन हिजो हङकङबाट क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको विमानस्थल सुरक्षा स्रोतको भनाई छ । उक्त सुनलाई आज भन्सार जाँच पास गरेर अपराह्न २ बजे एयरपोर्ट पास भइसकेको सूचना अनुसन्धान विभागले पाएपछि अपरेशन सुरु भएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।
बरामद सुनको तौल लिइनसकेको र अनुसंन्धान जारी रहेको महानिर्देशक ढुंगानाले बताए । बरामद गरिएको सुन भारततर्फ तस्करी गरेर लैजान लागिएको आशंका गरिएको छ ।
यसअघि २०७४ माघ ९ गते चुडामणि उप्रेती ‘गोरे’ नेतृत्वको समूहले यूएईबाट ल्याएको ३३ किलो सुनले निकै चर्चा पाएको थियो । उक्त प्रकरणका प्रहरी अधिकारीहरु, भन्सार कर्मचारीदेखि तस्करीमा नेताहरुको समेत नाम जोडिएको थियो ।
तर, सिनामंगलमा बरामद गरिएको झण्डै एक कुण्टल सुन कसरी एयरपोर्टबाट बाहिर आउन सक्यो भन्ने प्रश्न जबरजस्त रुपमा उठेको छ । कतै बरामद गरिएको सुनमा एयरपोर्टको सुरक्षाकर्मी, भन्सार कर्मचारी लगायतको त संलग्नता छैनन् भनेर आशंका पनि गरिदैछ । यद्यपी अनुसंन्धानबाट यर्थात बाहिर आउने नै छ ।













