विराटनगर । पटक पटक केही न केही विषयमा विरोध भइरहने विराटनगरमा मंगलबार पनि विरोध प्रदर्शन गरिएको छ । कोशी प्रदेशको नामकरणसँग असन्तुष्ट पक्षले विरोध प्रदर्शन गरेका हुन् ।
मंगलबार सुनसरीको इटहरीदेखि मोटरसाइकल र्यालीसहित विराटनगर आएका पहिचान पक्षधरहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले कोशी नाम खारेज गर्नुपर्ने माग गर्नुका साथै मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा समेत माग गरेका छन् । उनीहरुले मंगलबारदेखि पुनः विराटनगरमा आन्दोलन सुरु गरेका छन् ।
कार्कीकै नेतृत्वको सरकारले गत १७ फागुन २०७९ मा प्रदेशको नाम कोशी नामकरण गरेको थियो । पहिचानसहितको नाम राख्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका विभिन्न राजनीतिक तथा सामाजिक संस्थाले कोशी नाम खारेज गर्न माग गर्दै आएका छन् । यसअघि सोमबार जिल्ला प्रशासन कार्यालय मोरङले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रदेशसभालगायत प्रमुख प्रशुसनिक निकायबाहिर प्रदर्शनमा २ महिनासम्मका लागि रोक लगाएको थियो ।
आफ्ना माग पुरा नभएर आन्दोलनका कार्यक्रम जारी राख्ने बताइएको छ ।