काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि गठित उच्चस्तरीय समितिले मंगलबार गृहमन्त्रीलाई विस्तृत प्रतिवेदन बुझाएको छ । यद्यपि, प्रतिवेदनमा समेटिएका विषयलाई गुपचुपमै राखिएको छ ।
मंगलबार गृहमन्त्रालयमा समितिका संयोजक सह–सचिव हरिप्रसाद मैनालीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रतिवेदन बुझाएका हुन् । तर, यसअघि चर्चा गरिँदै आएको ‘संदिग्ध हत्यारा’ बारे केही सार्वजनिक गरिएन ।
प्रतिवेदन बुझाउँदै गर्दा गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी, प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप–सचिव वीरेन्द्र केसी लगायतको उपस्थिति थियो ।
प्रतिवेदन बुझाएपछि अनलाइनखबरसँग कुरा गर्दै समितिका सदस्य उप–सचिव केसीले निर्मलाले न्याय पाउनेमा आफू ढुक्क रहेको बताए ।
‘निर्मलाका लागि गर्नुपर्ने काम गरेको छु, सरकारले त्यो प्रतिवेदनमा पेश भएका विषय सार्वजनिक गरोस्’, केसीले भने, ‘मैले देखेको कुरा प्रस्ट लेखेको छु । कानुनको मान्छेले लेखेको कुरा गलत हुने कुरै हुँदैन । मैले जे देखे, त्यो लेखेँ । भोलि मैले लेखेको कुरा हो कि हैन भनेर हेर्नका लागि मसँग प्रतिलिपि छ ।’
उनले निर्मलाको न्यायका लागि आफूले हिजो पनि सम्झौता नगरेको र आज पनि नगर्ने बताए । यद्यपि, उनले प्रतिवेदनमा के कुरा लेखिएको छ, जसले घटनाको रहस्यको पर्दा उघार्छ भन्ने बताउन चाहेनन् ।
यसअघि राजीनामा दिँदै गर्दा उनले घटनाको अपराधी उम्कन सक्ने खतरा भएको दाबी गरेका थिए । तर, प्रतिवेदनमा आफ्नो सम्पूर्ण कुरा लेख्न सक्ने भनेर गृहमन्त्री थापाले नै आश्वत पारेपछि उनले राजीनामा फिर्ता लिएका थिए ।
संयोजक भन्छन्– पहिले आएकै कुरा छन्
प्रतिवेदनमा समेटिएका कुरा गुपचुप राखिएपछि समितिका संयोजक हरिप्रसाद मैनालीसँग जिज्ञासा राख्दा उनले प्रतिवेदनमा खासै नयाँ केही नभएको बताउँदै पहिल्यै आएका कुराहरु नै समेटिएको बताए ।
‘हामीले प्रतिवेदन गृहमन्त्रालय बुझायौं । मन्त्रालयले अध्ययन गर्दैछ’, मैनालीले अनलाइनखबरसँग भने, ‘त्यसबारे केही विवरण निकाल्ला नि बाहिर ।’
उनले पहिले चरण–चरणमा आएका विषयको विस्तृत रिपोर्ट प्रतिवेदन भएको बताए । ‘हामीले विभिन्न चरणमा जानकारी दिइरहेका थियौं । त्यसैको फाइनल दिएका हौं’, उनले भने, ‘अभियुक्तको पहिचान गर्ने जिम्मा त प्रहरीकै हो नि ।’
उनले आफूहरुलाई दिइएको टीओआर अनुसार काम गरेको बताए ।
अभियुक्त किटान भएको छैनः गृहसचिव
यसअघि राष्ट्रियसभामा सांसदहरुले पन्त हत्या प्रकरणबारे सोधेको प्रश्नमा गृहमन्त्री थापाले सह–सचिव मैनालीको नेतृत्वमा गठित समितिलाई अभियुक्तको पहिचान गर्नेसम्मको जिम्मेवारी दिइएको बताएका थिए ।
तर, प्रतिवेदनमा अभियुक्तको पहिचान गरिएको छैन । गृहसचिव प्रेमकुमार राईले प्रारम्भिक प्रतिवेदनको आधारमा अनुसन्धान भइरहेको बताउँदै घटनामा संलग्न अभियुक्तको नाम किटान नगरिएको बताए ।
‘तपाईंहरुले उठाएका कुराहरु नै प्रतिवेदनमा छन् । त्यस्तो नयाँ कुरा खासै केही छैन’, उनले भने, ‘प्रहरीबाट भएको कमजोरीका कुरादेखि पछिल्लो समय अनुसन्धानका क्रममा देखिएका कुराहरु छन् ।’
‘प्रतिवेदनको विस्तृत अध्ययन त गरेका छैनौं । सामान्य ब्रिफिङ मात्र भएको हो’, राईले थपे, ‘गोली चलाउनु पनि प्रहरीको कमजोरी भएको निष्कर्ष छ । प्रहरीले सजगता अपनाउन नसकेको समितिको भनाइ थियो ।’ साभार- अनलाइनखबर