काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकमा धार्मिक, जातीय र साम्प्रदायिक आधारमा सामाजिक सम्बन्धमा खलल पुर्याउन केही स्वार्थ समूह सक्रिय रहेको निष्कर्ष निकालेको छ।
रास्वपाको हिजो बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले गरेका चार वटा निर्णयका बारेमा महामन्त्री तथा प्रवक्ता मुकुक ढकालले आज एक विज्ञप्ति जारी गर्दै मुलुकमा धार्मिक, जातीय र साम्प्रदायिक आधारमा सामाजिक सम्बन्धमा खलल पुर्याउन केही स्वार्थ समूह सक्रिय रहेको निष्कर्ष निकालेको हो ।
रास्वपाले सामाजिक सद्भाव बिथोल्न खोज्ने गतिविधिलाई तत्काल नियन्त्रणमा लिन पनि सरकारको ध्यानाकर्षण गराएको छ । सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन विज्ञप्तिमार्फत आग्रह पनि गरिएको छ ।
‘देशका विभिन्न ठाउँमा धार्मिक, जातीय वा सम्प्रदायका आधारमा सामाजिक सम्बन्धमा खलल पुर्याउन केही स्वार्थ समूह सक्रिय छन् । केही अघि धरान र भर्खरै मलंगवामा सदियौंदेखिको सद्भाव बिथोल्ने नियोजित प्रयास भयो । तर, हाम्रो घनिष्ठ सामाजिक सम्बन्धले त्यसलाई सफल हुन दिएन, रास्वपाको यो बैठक सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न र अल्पसंख्यकको पहिचानको सम्मान गर्न सबैमा अपील गर्दछ । साथै, जुनसुकै धर्मावलम्बी वा समुदायको भावनालाई जुनसुकै आवरणमा चोट पुर्याई सामाजिक सद्भाव बिथोल्न खोज्ने गतिविधिलाई तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउँदछौं’, विज्ञप्तिमा भिनएको छ ।
बैठकले डा. स्वर्णीम वाग्लेको नेतृत्वमा पार्टीको राजनीतिक दस्तावेज निर्माणका लागि विभिन्न क्षेत्रका विज्ञ, बौद्धिक, पेशा व्यवसायीहरूसँग नीति विचार मन्थन कार्यक्रम आयोजक समिति समेत गठन गरेको छ ।
रास्वपाले राष्ट्रपति रामचन्द्र पौडेललाई अदालको फैसलाबमोजिम फौजदारी कसुरमा सजाय पाएको व्यक्तिलाई सजाय माफी दिने अधिकारको दुरुपयोग भइरहेको भन्दै ध्यानाकर्षण पत्र बुझाउने पनि निर्णय गरेको छ ।
त्यस्तै, रास्वपाले संसद्मा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० केही प्रावधानमा पार्टीको असहमति रहेको निष्कर्ष निकाल्दै उक्त विधेयक परिस्कृत गर्न समिति गठन गरेको छ । त्यसका लागि सांसद सुमना श्रेष्ठको संयोजकत्वमा सांसदहरू शिशिर खनाल, डा. तोसिमा कार्की केन्द्रीय सदस्य गणेश कार्की रहेको समिति गठन गरिएको छ ।