धनुषा । सार्वजनिक रुपमा हिंसात्मक अभिव्यक्ति दिएर पक्राउ परेका हिन्दू धर्मगुरु आचार्य श्रीनिवास गल्ती स्वीकार गर्दै जरिवाना तिरेर रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषाले उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा ५०० रुपैयाँ जरिवाना तिराएर अबदेखि त्यस्तो नगर्ने सर्तमा रिहा गरेको हो ।
श्रीनिवासले आफूले उत्तेजक अभिव्यक्ति दिएर गल्ती गरेको र उपरान्त त्यस्तो नगर्ने सर्तमा ५०० रुपैयाँ जरिवाना तिरेर छाडिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए ।
उनकाअनुसार श्रीनिवासले म साधु मान्छे । त्यति बेला माहोल देखेर आवेशमा आएर बोलेँ । ‘गल्ती गरेँ, कमिला पनि नमार्ने मान्छे म । के मान्छे मार्न आदेश दिउँला र । मैले गल्ती बोलेको हुँ, उपरान्त त्यस्तो गर्ने छैन्’, भन्दै प्रतिज्ञा गरेका थिए ।
धर्म गुरु श्रीनिवासविरुद्ध हिजो मुद्दा दर्ता गरेर जिल्ला अदालत धनुषाबाट आज तीन दिनको म्याद थप गराएर अनुसन्धान सुरू गरिएको गर्ने भनिएको थियो । तर तर उनले गल्ती स्विकार गर्दै जरिवाना तिरेपछि जिल्ला प्रशासनले रिहा गरेको छ ।
आचार्य श्रीनिवासलाई सुनसरीको बराहक्षेत्र नगरपालिकाको चक्रघट्टीस्थित आश्रमबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो ।
असोज १२ गते जनकपुरधाममा भएको विरोध कार्यक्रममा उनले नाङ्यो खुकुरी देखाउदै साम्प्रदायिक घृणा फैलाउने गरी हिंसात्मक अभिव्यक्ति दिएका थिए । समाजमा धार्मिक र जातीय हिंसा भड्काउने गरि दिएको उनको अभिव्यक्तिलाई लिएर सर्वत्र विरोध भइरहेको छ ।
धर्म गुरु श्रीनिवास यसअघि २०७५ वैशाख २४ गते पनि पक्राउ परेका थिए । उनले विराटनगरस्थित एक मन्दिरका सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई आफैंमाथि गोली प्रहार गर्न लगाएर धार्मिक र साम्प्रदायिक हिंसा भड्काउन खोजेका थिए।