एनआरएनए सह-कोषाध्यक्ष पदका उम्मेदवार मुक्तदाका ६ प्रतिवद्धता

काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवशेनमा सह-कोषाध्यक्ष पदका उम्मेदवार मोहम्मद मुक्तदा मुसलमानले ६ वटा प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले आफुले जिम्मेवारी पाएपछि गर्ने ६ वटा प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

विगत १४ वर्षदेखि गैरआवासीय नेपाली संघको अभियानमा सक्रिय रहेका मुक्तदाले संघलाई समावेशी बनाउने देखि लिएर “नेपालका लागि नेपाली ” भन्ने नारालाई स्थापीत गराउन प्रयत्नरत रहने प्रतिवद्धता गरेका छन् ।

यस्ता छन् ६ प्रतिवद्धता

१. सबल र सफल एनआरएनएका लागि स्थायी रुपमा बलियो कोष निर्माणमा मेरो विशेष पहल र प्रयास रहनेछ ।
२. संघको कोषलाई फजुल खर्चबाट जोगाएर मितव्ययी र पारदर्शी रुपमा संचालन गर्न मेरो प्रयत्न रहने छ ।
३. आइसिसी र एनसिसीको कोषको सबलीकरणका लागि आइसिसीका कोषाध्यक्ष र सह-कोषाध्यक्षको नेतृत्वमा सबै एनसिसीका कोषाध्यक्ष र सह-कोषाध्यक्ष रहेको एक संयन्त्र गठन गर्न प्रयत्न गर्नेछु ।
४. वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका श्रमिकहरुको कुनै कारणले निधन हुन गएमा उनीहरुको शव नेपाल पुर्याउने प्रबन्धको लागि अनिवार्य रुपमा नेपाल सरकारले जीवन बिमाको रकमबाट भुक्तानी मिलाउन पहलकदमी गर्ने छु । यसैगरी परिवारले पाउनुपर्ने क्षतिपूर्तिलाई पनि शुनिश्चित गर्न पहल गर्नेछु ।
५. विदेशमा रहेको दोस्रो वा तेस्रो पुस्तालाई नेपालको भाषा, संस्कार, संस्कृति, नेपालीपन र नेपाली माटोसँग भौतिक र भावनात्मक रुपमा जोड्न भाषा, संस्कृति प्रवर्धन र जगेर्नाका लागि एउटा छुट्टै कोषको अवधारणा बनाई सोही प्रयोजनका लागि मात्र खर्च गर्न मेरो पहल रहने छ ।
६. “नेपालीका लागि नेपाली” भन्ने संघको मूल नाराको भावना बमोजिम सधैं सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार