काठमाडौं । प्रधानमन्त्री प्रचण्डले प्यालेस्टाइन विद्रोही समुह हमासको नियन्त्रणमा रहेका कंचनपुरका विधार्थी विपिन जोशीको परिवारलाई भेटेका छन् । आज बिहान कैलालीको धनगढी विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले जोशीका बुवा आमा लगायत परिवारलाई भेटेका हुन ।
धनगढीमा आजबाट सुरु भएको सुदूरपश्चिम महोत्सवको उदघाटन गर्न कैलाली पुगेका प्रचण्डलाई परिवारजनले भेटेर छोरा विपिनको छिटो रिहाइका लागि आग्रह गरेका थिए । प्रधानमन्त्री प्रचण्डले हमासको नियन्त्रमा रहेका विपिनको सकुशल रिहाइका लागि सरकारको तर्फबाट अधिकतम कूटनीतिक पहल जारी रहेको बताएका थिए ।
कंचनपुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल भएका थिए । गत भदौ २७ गते इजरायल पुगेका उनिहरु असोज २० गते हमासले इजरायलमा रकेट आक्रमण गर्दा किबुजस्थित कृषि फार्ममा अध्यनरत १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने सोहिक्रममा विपिन पनि सम्पर्कविहीन भएका थिए।
इजरायली सेना र इजरायलमा रहेको नेपाली राजदूतावासले विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरे पनि उनको अवस्था यकिन हुन सकेको छैन् ।
हमास र इजरायलबीच केहि दिनअघि युद्धविराम भएका बेला अन्य देशका नागरिकलाई हमासले रिहा गरेको थियो । तर त्यो बेला नेपाली विधार्थी विपिनको रिहाई हुन नसक्दा परिवारजन थप पीडामा छन् ।