बारा। बारामा एक बोर्डिङ स्कुलका प्रिन्सिपलको हत्यामा संलग्न भनिएका भारतीय नागरिकलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ ।
जिल्लाको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर भनिएका ३२ वर्षीय भारतीय नागरिक सुजित सिंहलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो ।
बाराको विश्रामपुर गाउँपालिका मा गएराति करिब ९बजे तीर देखिएका आरोपी सिंहलाई प्रहरीले नियन्त्रमा लिन खोज्दा भागेपछि खुट्टामा २ राउण्ड गोली हानेर पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । उनीसँग प्रहरीले एक थान पेस्तोल र ४ थान गोली पनि बरामद गरेको छ।
प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्न सिंहलाई बारा प्रहरीले २ महिनादेखि खोजी गरिरहेको थियो ।
सिंहको हाल बारा सदरमुकाम कलैया स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको डिएसपी न्यौपानेले बताए।
प्रहरीकाअनुसार सिंह भारतको बिहार मोतीहारी जिल्लाको छोडादारका बासिन्दा हुन् ।
गत कार्तिक १३ गते प्रिन्सिपल स्वर्णाकारको गोली हानेर हत्या भएको थियो । घटनाको तीन दिन पश्चात प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो भने मुख्य आरोपी सिंह फरार थिए ।
प्रिन्सिपल स्वर्णाकारको हत्यामा आठ जनाको संलग्नता रहेको प्रहरीले बताएको छ । उनको हत्या आरोपमा यसअघि बाराको कलैया उपमहानगरपालिका–२ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह प्रहरी हिरासतमा छन् ।