न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर


काठमाडौं । जिल्ला अदालत काठमाडौंले न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ।

अदालतका न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेका हुन् । गिरीलाई कति सजाय निर्धारण गर्ने भन्ने बिषयमा छुट्टै पेशी तोक्न आदेश गरेको अदालतका स्रेस्तेदार रामु शर्माले बताए ।

स्रेस्तेदार शर्माका अनुसार गिरीलाई सजाय निर्धारणका लागि जेठ २८ गते फेरि अर्को सुनुवाई हुनेछ ।
न्यायाधीश गिरीकी कान्छी श्रीमती आरती रावलले श्रीमान‍्बाले आफूमाथि यौन शोषण तथा हिंसा गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तौलिहवामा किटानी जाहेरी दिएकी थिइन्।

सोही आरोपमा पक्राउ परेका गिरीलाई कपिलवस्तु जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतले धरौटीमा छोडेको थियो। धरौटीमा छुटेपछि गिरीले मान्छे लगाएर ज्यान मार्ने धम्की दिँदै आएको श्रीमती रावलको आरोप थियो। उनले न्याय पाउँ भन्दै पटक पटक सर्वोच्चमा आत्महत्या प्रयास गरेकी थिइन् ।

गिरी र रावलबीच प्रेम सम्बन्धपछि विवाह भएको थियो । आफूलाई औषधि खुवाएर गर्भपतन गराएको, बन्धक बनाएर कुटपिट गरेको, अप्राकृति मैथुन गरेको श्रीमती रावलको आरोप छ ।

गत चैत २१ गते सर्वोच्च अदालतका न्यायाधीशहरू हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गिरीलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। उक्त आदेशपछि फरार रहेका गिरी वैशाख ३ गते काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए।

अदालतमा हाजिर भएका उनलाई पुर्पक्षका लागि डिल्लीबजार कारागार थुनामा राखिएको छ । मुद्धा परेका बखत गिरी जिल्ला अदालत कपिलबस्तुमा न्यायाधीश थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार