विराट कोहलीको शतकको मद्दतमा आईपीएलमा बैंङ्लोरको दोस्रो जित

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंङ्लोरले दोस्रो जित हात पारेको छ ।

गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै बैंगलोरले दोस्रो जित निकालेको हो ।

कोलकातास्थित इडेन गार्डेन्समा बैंङ्लोरले दिएको २ सय १४ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन मात्र बनाउन सक्यो ।

कोलकाताका लागि नितिस रानाले अविजित ८५ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै आन्द्रे रुसेलले ६५ रनको अर्धशतकीय इनिङ्स खेले ।

सुनिल नारिने १८ रनमा आउट भए । बैंङ्लोरका डेल स्टेनले २ विकेट लिए

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंङ्लोरले २० ओभरमा ४ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो । बैंङ्लोरका लागि कप्तान विराट कोहलीले १०० रनको शतकीय इनिङ्स खेले ।

कोहलीले ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । यस्तै मोइन अलिले ६६ रनको अर्धशतकीय इनिङ्स खेले । कोलकाताका कुलदिप यादव, आन्द्रे रसेल, ह्यारी गुर्नी र सुनिल नारिनले १/१ विकेट लिए ।

जितसँगै बैंङ्लोर कोलकातासँग पहिलो खेलमा बेहोरेको हारको बदला लिनसमेत सफल भएको छ ।

जितसँगै अंक तालिकाको पुछारको बैंङ्लोरले ९ खेलबाट ४ अंक जोडेको छ । छैठौं स्थानमा रहेको कोलकाताले ८ खेलमा ८ अंक जोडेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार