कैलाली । बहुमुल्य विभिन्न गरगहनासहित कैलालीमा चारजना पक्राउ परेका छन् । दुई सय ७७ ग्राम बराबरका सुनका गरगहना र नगद रकमसहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ गरेका कञ्चनपुर कृष्णपुर नगरपालिका–४ का ३८ वर्षीय मानबहादुर कार्की, सोही ठाउँको वडा नम्बर ५ बस्ने ४३ वर्षीय सन्तोष भट्टराई, कैलाली गौरीगंगा नगरपालिका– ८ का २१ वर्षीय कुमार भुल र गोदावरी नगरपालिका–७ बस्ने २८ वर्षीय योगेन्द्र विकलाई सार्वजनिक गरेको छ ।
उनीहरूले भारतको लुदियाना पञ्जाव गुरुनगर बस्ने पुनम मल्होत्राको घरबाट सुन तथा हीराका गरगहना र नगद चोरी गरेको सूचनाका आधारमा पक्राउ गरिएको कैलाली प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए। मल्होत्रासहितको टोली नेपाल आएर प्रहरीलाई खबर गरेपछि चोरीमा संलग्नहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको गिरीले जानकारी दिए । चोरीमा संलग्न केही व्यक्ति अझै फरार रहेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार भारतबाट चोरी गरी ल्याएका २ सय ७७ ग्राम सुनका गर गहना, डेढ लाख नगद भारतीय रुपैया, ९२ हजार नेपाली रुपैया र एक सय ३० यूएस डलरसहित उनीहरूलाई पक्राउ गरेको हो ।