
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई हिंसाको राजनिती त्यागेर शान्तीपुर्ण राजनितीमा आउन आग्रह गरेका छन् ।
प्रेस सङ्गठन दाङले शुक्रबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता प्रभारकरले भने, “बन्दुक पड्काएर समाजवाद आउँदैन, अब देशमा हिंसाको राजनिती चल्दैन । त्यसैले म विप्लव जिहरुलाई आग्रह गर्छु, मूलधारको राजनीतिमा फर्किनुस, मिलेर देश बनाउँ ।”
पूर्वगृहमन्त्रीसमेत रहेका नेता शर्माले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट ल्याइएको संविधानको पुर्ण कार्यान्वयनको दिशामा अघि लैजान सरकार र नेकपा पूर्ण प्रतिवद्धताका साथ लागि परेको समेत बताए।
देश समृद्धीको बाटोमा अघि बढिरहेको प्रसंग उल्लेख गर्दै नेता प्रभाकरले देशमा विकासको फड्को मार्नका लागि ठूलो लगानी आवश्यक रहेकाले मुलुकमा विदेशी लगानी भित्र्याउनेतर्फ सरकार गम्भीर भएर लागेको जानकारी दिए।
पार्टी एकताको प्रसंग कोट्याउँदै उनले भने, “पार्टी एकता गर्ने सहमति मुख्य कुरा थियो, त्यो भयो । एकताका सबै काम पूरा भएकाले अब सरकार र पार्टी जनताको चाहना र आवश्यकता अनुरुप अगाडि बढ्छ ।”
पार्टी एकताकाबीच बिशेषगरी दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच आलोपालोमा सरकार संचालनको सहमतीतर्फ संकेत गर्दै नेता प्रभाकरले पार्टीले अहिलेको आवश्यकताअनुसार नयाँ ढङ्गबाट निर्णय गर्न सक्ने बताए ।









