
चितवन । चितवन मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलनलाई थप चर्काउने घोषणा गरेका छन् ।
भरतपुरमा मंगलबार पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुले चिकित्सा शिक्षा अध्ययनमा सरकारले तोकिएको भन्दा बढी शूल्क तत्काल फिर्ता वा समायोजन हुनुपर्ने माग दोहोर्याए ।
बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले तीन सातादेखि चितवन मेडिकल कलेजमा आन्दोलन गर्दै आइरहेका छन् । कलेजले अतिरिक्त शुल्क लिन नछा्ड्दासम्म आफ्नो आन्दोलन जारि रहने उनिहरुले बताएका छन् ।
उनीहरुले मेडिकल शिक्षामा सुधार लगायतका माग राख्दै लामो समयदेखि आन्दोलन गरिरहँदा पनि शिक्षा मन्त्रालय, आईओएम, त्रिवि, केयूलगायत सबै सरोकारवाला संस्थाहरु मौंन रहेको भन्दै आक्रोश पोखे ।
विद्यार्थी आन्दोलनका संयोजक नेत्र बिक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा निडर छवी भएका प्रधानमन्त्रीसमेत मेडिकल माफियाका सामु त्रस्त र नतमस्तक भएको आरोप लगाइएको छ ।
त्यस्तै मेडिकल शिक्षाको नाममा दशौं अरबको कालोबजारी भएर अरबौं कर छलि हुँदा पनि अर्थमन्त्री निरिह भएको भन्दै विज्ञप्तिमा आलोचना गरिएको छ । विद्यार्थीहरुले अवैद्यरुपमा प्रतिविद्यार्थी १२ लाख ४५ हजार रुपैयाँ एमबीबीएसका विद्यार्थीहरुबाट असुल्दा पनि फिर्ताको पहल नगरेर शिक्षामन्त्री माफियाको अनुचित लाभमा फसेको भन्दै विद्यार्थीले राजीनामाको माग पनि गरेका छन् ।
उनिहरुको आन्दोलनका कारण कलेज प्रशासन बन्द छ ।
“मेडिकल कलेजहरुले असुलेको अवैध अर्बौं रकमको हिसाव हामी खोज्छौं,आर्थिक अपराध गर्नेहरु कानूनी कठघरामा उभिनुपर्दछ संयोजक चन्दले भने, ‘जबसम्म उनीहरुलाई कठघरामा उभ्याइँदैन तबसम्म आन्दोलन जारी रहन्छ, अभिभावकहरुले सहयोग गरिदिनुस् ।”
मेडिकल कलेजहरुले गत शैक्षिक सत्रमा एमबिबिएस भर्नामा ६ लाखदेखि १२ लाखसम्म अतिरिक्त शुल्क उठाउँदै आएका छन् । सो रकम समायोजन गर्नुपर्ने माग विद्यार्थीको छ । तर, मेडिकल कलेज सञ्चालकहरुले चिकित्सा शिक्षा अध्ययन संस्था (आइओएम) र संसदीय उपसमितिको सिफारिसका आधारमा शुल्क उठाएको बताउँदै आएका छन् ।
परीक्षा शूल्क, इन्टर्नसिप, कम्युनिटी, त्रिवि रजिष्ट्रेशन अनेक अनेक शीर्षकमा शुल्क उठाएको विद्यार्थीहरुको गुनासो छ । सरकारले राजधानीभित्र एमबीबीएस अध्ययनका लागि ३८ लाख ५० हजार र मोफसलमा ४२ लाख ४५ हजार रुपैयाँ लिन पाउने व्यवस्था गरेको छ ।








