
बुटवल । कोरोनाले देश संकटमा रहेका बेला अस्पतालमा डिउटी गर्न नआउने ५ जना डाक्टरलाई जागिरबाट हटाइएको छ ।
प्रदेश ५ को लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना डाक्टरहरु डिउटी नआएपछि उनिहरुलाई हटाइएको हो ।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका अनुसार बिनासूचना अनुपस्थित भएका अस्पतालका रेडियोलोजी विभागमा कार्यरत ताराप्रसाद शर्मा र बरदान वली, ईएनटी विभागका प्रकाश न्यौपाने, यूरोसर्जन सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत प्रकृति कार्कीलाई सेवाबाट हटाइएको छ।
करार सेवामा नियुक्त उनीहरू अस्पताल प्रशासनलाई जानकारी नदिई अनुपस्थित भएकाले हटाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। राजेन्द्रप्रसाद खनालले जानकारी दिए ।
कोरोनाका बेला प्रदेशका अन्य अस्पतालमा पनि अनुगमन र निगरानी बढाइएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए ।
“कोरोना महामारीका बेला पनि सेवामा नखटिने चिकित्सकहरुलाई कारबाही गर्न निर्देशन दिएको छु । सुत्केरी, काजक्रिया र बिरामीबाहेकका बिदा स्वीकृत नगर्न र बिनाजानकारी सेवामा अनुपस्थित हुनेलाई कारबाही गर्ने निर्णय गरेका छौं”, मन्त्री बरालले बताए ।








