कोरोना अस्पतालमा मृत्यु भएका बाबुरामको शव ११ दिनपछि परिवारले बुझ्दै, यस्ताे भयो सहमति

बुटवल । बुटवलको कोरोना अस्थायी अस्पतालमा मृत्यु भएका बाबुरामको शव ११ दिनपछि परिवारले बुझ्ने भएका छन् । मृतकका परिवार र सम्बन्धीत निकायबीच पाँचबुँदे सहमति भएपछि बुधबार शव परिवारले बुझ्ने भएका हुन् ।

कोरोनाको आशंकामा अस्पताल पुगेका ३४ वर्षीय थापाको यहि चैत १६ गते अस्पतालमै मृत्यु भएको थियो । बाबुरामको मृत्युपछि परिक्षण गर्दा उनको रिर्पोट नेगेटिभ आएको थियो ।

उनको रिर्पोट नेगेटिभ आएपछि मृतककी श्रीमती रिता थापाले आफ्नो श्रीमानकाे उपचार नपाएर र अस्पतालको लापरवाहीले मृत्यु भएको भन्दै छानविन नभएसम्म शव नबुझ्ने अडान लिएकी थिइन् ।

बुधबार प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा पाँचबुँदे सहमति भएपछि उनको शव बुझ्न परिवार सहमत भएका हुन् ।

पाँचबुँदे सहमतिमा के के बुँदा छन् ?

१. उनका परिवारलाई दिने गरी सुरुमा ५ लाख ५ हजार रकम रहेकोल आधारभूत राहत कोष बनाउने ।
२. मृतकका दुई छोरालाई उच्च शिक्षासम्म पठनपाठनमा सहयोग गर्ने ।
३. मृतककी श्रीमती रिता थापा क्षेत्रीलाई सैनामैनामै स्थानीय सरकारले योग्यताअनुसार रोजगार दिने ।
४. लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा रहेको थापाको शव परिवारले बुझेर अन्तिम संस्कार गर्दा प्रदेश सरकारले आवश्यक सहयोग   गर्ने ।
५. आर्थिक सहायता कोषमा बुधबार नै साढे ८ लाख रकम संकलन भइसकेको छ । यसमा अन्य सहयोगी दाताहरुलाई पनि सहयोग गर्न आग्रह गर्ने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार