काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । बिहीबार एकै दिन १ सय ५६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण पुष्टि भएपछि पहिलो पटक सबैभन्दा बढी संक्रमित भेटिएका हुन् । यसअघि बुधबार मात्रै ११४ जनामा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा थप संक्रमण पुष्टि हुनेहरुमा धनुषाका २९ जना, झापाका २५ जना, रौतहटका २० जना, महोत्तरीका १७, सप्तरीका १४ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना, स्याङ्जा र बर्दियाका ३र३ जना, दोलखा र कैलाली २र२ जना र बाँके, मकवानपुर, दार्चुला, बझाङ, सोलुखुम्बु र नवलपरासी पूर्वका एकरएक जना रहेका छन् ।
संक्रमण पुष्टि भएकाहरुमध्ये हालसम्म १८७ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै बुधबार थप एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
बुधबार ललितपुरको बुङमतीका ५६ वर्षीय पुरुषको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । पहिलेदेखि नै कलेजोसँग सम्बन्धित रोगले ग्रसित उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।











