क्वारेन्टिनमा बसेकालाई पीसीआर परीक्षण गरेर मात्रै घर पठाउँ : कांग्रेस


काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले क्वारेन्टिनमा बसेकालाई पीसीआर परीक्षण गरेर मात्रै घर पठाउन सरकारसँग माग गरेको छ । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पीसीआर परीक्षण गरेर मात्रै क्वारेन्टिनबाट घर पठाउन आग्रह गरेका हुन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला र देश बाहिरबाट आएका नागरिकलाई अहिले आ आफ्नो स्थानीय तहमा क्वारेन्टिनमा राखिएका छन् । केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय तहमा पत्राचार गरी क्वारेन्टिनमा बसेको १४ दिनपछि कोरोना परीक्षण विनै घर पठाउन निर्देशन दिएको थियो ।

उक्त निर्देशन गतल भएको भन्दै कांग्रेसले सरकारको ध्यान आकर्षण गराएको छ । त्यस्तै कांग्रेसले मृत्यु भएका व्यक्ति र आइसोलेसनमा रहेकाको अनिवार्य कोरोना परीक्षण गर्न सरकारलाई आग्रह गरेको छ ।

देशभरी क्वारेन्टिनको अवस्था एकदमै नाजुक रहेको गुनासो आइरहेका बेला कांग्रेसले क्वारेन्टिनहरु मापदण्डअनुसार उचित व्यवस्थापन गर्न, पिउने पानी, खाना, शौचालय र दूरीसहित बस्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।

त्यस्तै क्वारेन्टिनमा उमेर र स्वास्थ्य अवस्थाको अभिलेख तथा नियमित स्वास्थ्य निगरानी, आवश्यक औषधी, एम्बुलेन्स, परिक्षण तथा नियमित परामर्शको व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार