
पोखरा । पोखरामा कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापनमा स्थानियले अवरोध गरेपछि प्रहरी र स्थानयबीच झडप भएको छ । बिहीबार लेखनाथ नगरपालिका-३२ मजुवा घाटमा शव व्यवस्थापन गर्न गर्न गएको प्रहरीको टोलीमाथि स्थानियले ढुंगामुडा गरेपछि झडप भएको हो ।
झडपका क्रममा प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको बताइएको छ । झडपमा परी दर्जनबढी स्थानीय घाइते भएका छन् ।
कोरोना संक्रमितको शव मजुवा घाटमा व्यवस्थापन गर्न पाइदैन भन्दै स्थानियले अवरोध गरेपछि झडपको स्थितीको भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । स्थानियले घाट नजिकै टायर बालेर विरोध प्रदर्शन समेत गरेका छन् ।
बुधबार राति निधन भएका स्याङ्जा एक पुरुषको शव व्यवस्थापनका लागि मजुवा घाट तोकिएको थियो । शवलाई उक्त ठाउँमा लैजाँदै गर्दा शवबाहन सहितको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेका थिए ।
तर, नेपाली सेनाले शव व्यबस्थापन गर्ने र पोखरा महानगरपालिकाले शव व्यवस्थापन स्थान खोज्ने सहमतिअनुसार महानगरले पोखरा ३२ मजुवा घाट तय गरेको थियो ।
यसअघि पनि पोखरामा कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने क्रममा स्थानीयले अवरोध गरेका थिए ।











