
स्याङ्जा । शनिबार देखि सलह नेपाल प्रवेश गरेपछि गाउँ गाउँका किसान चिन्तित भएका छन् । सलहले बाली नाली सखाप पार्ने भएकाले भोकमरी निम्त्याउन सक्ने भन्दै किसान चिन्तित् भएका हुन् ।
पछिल्लो समय स्थानीय तहले सलह मारेर ल्याउनेलाई प्रोत्साहन स्वरुप केही रकम दिने निर्णय गरिरहेका छन् । सलह नियन्त्रणका लागि यो पनि एक उत्तम उपाए भएकाले यस्तो निर्णय गरिरहेको उनीहरुले बताएका छन् ।
प्रदेश ५ सरकारले किलोको २० र सुदूरपश्चिम सरकारले २५ दिने निर्णय गरेपछि स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले भने प्रतिकिलो रु १०० दिने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले किसानले लगाएको अन्नबाली जोगाउन यस्तो निर्णय गरिएको बताएका छन् ।
गाउँपालिकाको आलमदेवी, बाँसटारी, गुरुङ्दी, सटुका, खोरबारी, छापलगायतका ठाँउमा हिजो साँझै सलह किरा देखिएको गाउँपालिकाले जनाएको छ । स्थानीय बासिन्दाले खेती जोगाउनका लागि आगो बाल्नुका साथै थाल ठटाएर सलह धपाइरहेका छन् ।











