
काठमाडौं । काठमाडौं उपत्यकामा फेरी एक हप्ता निषेधाज्ञा थपिएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले जारी निषेधाज्ञा एकहप्ता थप्ने निर्णय गरेका हुन् ।
भदौ १० गते पुनः ७ दिनका लागि गरिएको निषेधाज्ञा आज मध्यरातिबाट सकिँदैछ ।
नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारीले निषेधाज्ञामा विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने निर्णय समेत गरिएको छ ।
होटल, रेष्टुरेन्ट, फुटपाथ पसल भने अझै बन्द रहनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।
काठमाडौं उपत्यकामा संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले भदौ ३ गतेदेखि लागू हुने गरी पहिलो पटक एक साता निषेधाज्ञा जारी गरेका थिए ।










