
सप्तरी । सीमा क्षेत्रमा भारतीय नागरिकको कुटाईबाट एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको डाक्नेश्री नगरपालिका वडानम्बर ६ औरही निवासी रामदेव यादव रहेका छन् ।
६५ वर्षीय यादवको उपचारको क्रममा आइतबार राति बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यादवलाई भारतीय नागरिकको समुहले गत भदौ ६ गते कुटपिट गर्दा शक्त घाइते भएका थिए ।
यादवले लगाएको धानबालीमा भैंसी चराउन आएका भारतीय समूहलाई गाली गर्दा यादवमाथि आक्रमण गरी कुटपिट गरेका थिए ।
भारतको बिहारस्थित मधुवनी जिल्ला लौकहीकाबाट ७/८ जनाको समुहमा भैंसी लिएर धानबाली चराइरहेको देखेर यादव र उनका छोरा ललनले गाली गर्दा भारतीय समूहले लाठी तथा बाँसको भाटाले कुटपिट गरेको स्थानीयको भनाइ छ ।







