![]()
काठमाडौं । पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला सर्वोच्च अदालतले उल्ट्याएको छ । यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले गरेको फैसला उल्ट्याएको हो ।
कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासको यो फैसलापछि कारागारबाट रिहा भएका कोइराला अब करिब साढे ११ वर्ष कैद बस्नुपर्नेछ । उनी अहिलेसम्म साढे ८ वर्ष मात्र कैद बसेका छन् ।
दुई वर्षअघि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको कैद मिनाहा गरेको थियो । यो फैसलापछि तत्कालिन प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको चौतर्फी आलोचना भएको थियो ।
पत्नी गीता ढकालको हत्यामा संलग्न रही प्रमाणसमेत नष्ट गर्ने प्रयत्न गरेका कोइरालालाई तत्कालीन अपराध महाशाखाको प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले हत्या ठहर गर्दै कोइरालालाई २० वर्ष जेल सजायको फैसला सुनाएको थियो । त्यसविरुद्ध उच्च अदालत पुगेका कोइरालालाई उच्च अदालतले पनि २० वर्ष नै जेल सजाय गर्ने ठहर गरेको थियो ।
तर, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले श्रीमती हत्या गर्ने कोइरालाको काममा ‘आवेश’ देखिएको र उनको घरमा बालबच्चाको संरक्षणको मानवीय पक्ष पनि जोडिएको भन्दै तर, साढे आठ वर्षमात्रै कैद बस्दा पनि हुने भन्दै फैसला सुनाइएको थियो । त्यसलगत्तै उनी कारागार कार्यालय डिल्लीबजारबाट रिहा भएका थिए ।
त्यसविरुद्ध अदालतमा पुनरावलोकनको निवेदन परेपछि सर्वोच्चले पुनरावलोकनको निस्सा दिएको थियो । उक्त रिटमाथि बिहीबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशद्वय टंकबहादुर मोक्तान र कुमार चुडालको पूर्ण इजलासले सजाय घटाउने सर्वोच्च अदालतको फैसला उल्टी गर्दै उच्च अदालतकै फैसला सदर गरेको हो । अब उनी २० वर्ष नै जेलमा बस्नुपर्ने छ ।
अब उनले बाँकी ११ वर्ष ६ महिना जेलमै बिताउनुपर्ने भएको छ । कोइरालाले गीताको हत्या गरी उनको शव २०६८ साल पुष २७ गते राती मकवानपुरको टिष्टुङमा लगेर जलाउने प्रयास गरेका थिए । शव जलाउँदै गर्दा मानिसहरु आएपछि उनी शव पूरा नजल्दै त्यहाँबाट भागेर काठमाडौं फर्किएका थिए ।













