
सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समतामुलक समाज निर्माणको बलियो आधार शिक्षा भएको बताएका छन् ।
शिक्षा क्षेत्रमा सुधार गर्दै समाज रुपान्त्र गर्न सके मात्रै देशमा समृद्धि र सुशासनको जग बसाल्न सकिने उनले बताए।
आज दिउँसो सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेस्थित चीनको सहयोगमा निमृत रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले समतामूलक समाज निर्माणको बलियो आधार नै शिक्षा भएको बताएका हुन ।
‘समतामूलक समाज निर्माणको आधार नै शिक्षा हो । शिक्षालाई प्राथमिकता नदिईं हामीले समाजवादको आधार तयार पार्न सक्दैनौँ । त्यसैले शिक्षाको गुणस्तरले मात्र सुशासन, सभ्यता, संस्कृति र विकासको आधार तयार पार्ने भएकाले शिक्षा नै महत्वपूर्ण हो’, प्रचण्डले भने ।

प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा केही असाधारण परिस्थिति देखिएको भन्दै आफुलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त हुनुले जिम्मेवारी र चुनौती थपिएको समेत बताए । विकास, सुशासन र समृद्धिको चुनौती एक्लैले पूरा गर्न नसकिने बताउँदै प्रधानमन्त्री प्रचण्डले सबैले हातेमालो गर्नुपर्ने मा जोड दिए।













