
काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले कार्यकारी निर्देशकको पदपूर्तिका लागि आवेदन माग गरेको छ । केन्द्रले एक सूचना जारी गर्दै निर्देशकको पदपूर्तिका लागि आवेदन माग गरेको हो ।
वैकल्पिक ऊर्जा विकास समिति गठन आदेश, २०५३ को दफा ७ बमोजिम वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशनको पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गरिने व्यवस्था छ । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयको प्रशासन महाशाखामा आवेदन पेस गर्न केन्द्रले आग्रह गरेको छ ।
कार्यकारी निर्देशकका लागि अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा ऊर्जा सम्बन्धी विषयमा स्नातकोत्तर उपाधिसहित वैकल्पिक ऊर्जाको क्षेत्रमा कम्तिमा १० वर्ष काम गरेको अनुभव हुनुपर्ने छ ।
इच्छुक उम्मेदवारहरुले आफ्नो हस्ताक्षरसहितको बायोडाटा, दुई हजार शब्दमा नबढाइ लेखिएको चार वर्षे व्यवसायिक कार्ययोजना प्रस्ताव, हाल कुनै संस्थामा कार्यरत रहेको भए सो संस्थाको सहमति र नोटरी पब्लिकबाट प्रमाणित नेपाली नागरिकता, शैक्षिक योग्यता र कार्य अनुभवका प्रमाणपत्रहरु पेश गर्नुपर्ने छ ।











