
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका दुई मन्त्रीले पदभार ग्रहण गरेका छन् । नेकपा एसका उपाध्यक्ष डा. बेदुराम भुसालले कृषि तथा पशुपन्छी मन्त्रालय र उपमहासचिव प्रकाश ज्वालाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पदभार ग्रहण गरेका हुन् ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर उनीहरुले मन्त्रीको पदभार ग्रहण गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार गरेको मन्त्रीमण्डल विस्तारमा भुसाललाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने उपमहासचिव प्रकाश ज्वालालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय भुसाल दुई वर्ष अघिमात्रै एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादीका संस्थापक महासचिव थिए । २०११ साल असारमा गुल्मी जिल्लाको धञ्चौरमा जन्मेका भुसालले २०२७ सालमा विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए ।
२०२९ कम्युनिस्ट पार्टीको सदस्यता लिएका भुसाल २०३० सालमा भएको वर्रे संघर्षमा संलग्न रहेका कारण पक्राउ परेका थिए । त्यसक्रममा भुसालले २०३० देखि २०४३ सालसम्म यातनापूर्ण जेल जीवन समेत बिताएका थिए । भुसाल अहिले राष्ट्रिय सभाका सदस्य रहेका छन् ।
त्यस्तै एकीकृत समाजवादीका कर्णाली प्रदेश इञ्चार्ज समेत रहेका प्रकाश ज्वाला संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । गत मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ज्वाला सल्यानबाट ३५ हजार ७०० मतसहित निर्वाचित भएका थिए ।
पञ्चायत विरोधी संघर्षमा सम्मिलित भएको आरोपमा तीन वर्ष जेल जीवन बिताएका उनले ०७४ मा सल्यान (खंं) बाट प्रदेशसभा चुनाव जितेर कर्णाली प्रदेश सरकारको अर्थमन्त्री समेत बनिसकेका छन् ।
नेकपा एकीकृत समाजवादीले भुसाल र ज्वाला दुबै जनाको यो निम्मेवारीलाई महत्वपूर्ण रुपमा हेरेको छ ।











