प्रधानमन्त्री प्रचण्डले भनेः मेलम्ची आयोजनालाई थप व्यवस्थित बनाउछौं


सिन्धुपाल्चोक। प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन्। आज मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न सिन्धुपाल्चोकको हेलम्बु–१ अम्बाथान पुगेका प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग गर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले याङ्ग्री र लार्के खोलाको पानी ल्याउन सरकारका तर्फबाट तत्काल पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। उनलेले मेलम्ची खोलामा आएको बाढीले बगाएको सडकलाई थप व्यवस्थित गर्न सरकारले आवश्यक बजेट व्यवस्था गर्ने आश्वासन दिए।

प्रधानमन्त्री प्रचण्डले स्थानीयवासीले उठाएका माग सम्बोधनका लागि आफू प्रतिबद्ध र चिन्तित रहेको पनि बताए ।

सो क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका बारेमा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका थिए । उनले आयोजनालाई नियमित र व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि पूर्ण सहयोग हुनुपर्ने बताए ।

प्रधानमन्त्रीसँगै खानेपानी मन्त्री महिन्द्र राय यादव पनि मेलम्ची पुगेका थिए। विसं २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । वर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनःसञ्चालन गरिएको थियो ।

विसं २०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायीरुपमा काठमाडौँ उपत्यकामा वितरण थालिएको थियो । विसं २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मुहानमा मर्मत गरेर २०७८ चैतदेखि पुनःमेलम्चीको पानी वितरण थालिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार