
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी सुरु हुन थालेको छ । पौने ४ किलो सुनसहित आज ४ जनालाई विमानस्थलबाट पक्राउ गरेको छ ।
प्रहरीकाअनुसार पक्राउ पर्नेमा चारै जना विदेशी नागरिक छन् । विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ परेका ति विदेशी नागरिकमा तीन महिला र एक पुरुष छन् । उनिहरु फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट सुन तस्करी गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । चेकजाँचका क्रममा उनिहरु पक्राउ परेको एसएसपी राठौरले बताए ।
पक्राउ परेका चारै जना उज्बेकिस्तानका नागरिक रहेको बताइएको छ। पक्राउ पर्नेमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर तुर्सुनोभ रहेको एसएसपी राठौरले बताए ।
प्रचण्ड सरकार हुँदा सुन तस्करीको जालो तोड्ने भन्दै थालिएको कार्बाहीमा धेरै जना पक्राउ परेका थिए । सुनकाण्डमा संलग्नहरुमाथि तात्कालिन सरकारकले कार्बाही थालेपछि निकै चर्चा समेत भएको थियो । त्यस क्रममा विमानस्थलबाट सुन तस्करी समेत रोकिएको थियो । तर, पछिल्लो समय फेरि सुन तस्करीका घटनाहरु बाहिर आइरहेका छन् ।














