
काठमाडौं। पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई अदालतबाट सफाइ दिने न्यायाधीशविरुद्ध उजुरी परेको छ । न्यायीक अभियन्ता युवराज पौडेल सफलले रौतहट बम विस्फोटमा संलग्नहरुलाई सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन मर्हजनविरुद्ध आज न्यायपरिषद्मा उजुरी हालेका हुन् ।
काँग्रेस नेता एवम् पूर्वमन्त्री आलमसहित चारजनालाई जिल्ला अदालत रौतहटले दोषी ठहर गरि जन्मकैद गरिसक्दा पनि उच्च अदालतका न्यायाधीश द्वय थारु र मर्हजनले उल्ट्याएर दर्जनौं पीडितमाथि थप पीडा दिने काम गरेकाले उनिहरुविरुद्ध उजुरी दर्ता गराएको अभियन्ता सफलले बताए ।
उजुरी दर्तापछि अनमोलपोस्टसंग कुराकानी गर्दै अभियन्ता सफलले आलमको पक्षमा गरिएको फैसलाको न्यायिक परिक्षणका लागि न्यायपरिषद्मा उजुरी दर्ता गरेको र पीडितले न्याय पाउनेमा आफु आशावादी रहेको बताए ।
न्यायिक अभियन्ता सफलले पार्टीको सिफारीसमा हुँदै आएको न्यायधीश नियुक्ती खारेज गरेर लोकसेवामार्फत नियुक्त हुनु पर्ने माग समेत गरे ।
द्वय न्यायाधिशहरु पदमा रहँदा न्यायसम्पादन नै प्रभावित हुनसक्ने भन्दै अभियन्त सफलले उनीहरुलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग समेत गरेका छन्।
गत बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले पूर्वमन्त्री आलम लगायतलाई सफाइ दिएको थियो ।
२०६४ चैत्र २७ गते राती रौतहटको राजपुर नगरपालिकाको फरदवा गाउँस्थित काँग्रेस नेता आलमको घरमा बम बनाइरहँदा चुरोटको आगोबाट विस्फोट भएको थियो । जसमा २३ जना घाइते भएको र घटना लुकाउन आलमले घाइतेहरुलाई उपचार गर्न नलगेर ज्युँदै इँटाभट्टामा हालेर मारेको आरोप छ ।
उक्त घटनामा काँग्रेस नेता आलमसहितका आरोपितलाई प्रहरीले २०७६ को असोजमा पक्राउ गरि मुद्धा दर्ता गरेको थियो ।
मुद्धामा जिल्ला अदालत रौतहटले २०८१ वैशाख १३ गते आलमसहितका चारजनालाई दोषी ठहर गर्दै जन्मकैदको सजाय तोकेको थियो ।
जिल्लाको फैसलालाई उल्ट्याएर उच्च अदालतले आलमलाई सफाइ दिएपछि आलोचना भइरहेको छ ।
घटनालाई पुष्टि गर्ने थुर्पै आधार, प्रमाण, प्रत्यक्षदर्शीहरु हुँदा समेत आरोपीतहरु अदालतबाटै उम्किने कार्यले न्यायलयप्रति नै अविश्वास पैदा हुने होकी भन्दै चिन्ता ब्यक्त भइरहेको छ ।
सफलसंगको संवाद हेरौं











