काठमाडौं । काठमाडौं उपत्यका धेरै ठाउँका सावैजनिक शौचालयका शौच गर्न नसकिने अवस्थाका छन् । पुराना संरचनाको पून निमार्णका साथै भएकालाई पनि सरसफाई नगरिएको हुदाँ सर्वसाधरणलाई सौच गर्न समेत निकै समस्या हुने गरेको छ ।
कतै भत्किाएका छन् भने कतै पानी अभावले दिशापिसावले भरिएर छोडिएका छन् । सरसफाई तथा व्यवस्थापनमा ध्यान नदिँदा कतिपय प्रयोगविहीन अवस्थामा छन् ।
त्यस्ता शौचालयको स्तरोउन्तिका लागि काठमाडौं महानगरपालिकाले उपत्यकाका विभिन्न ठाउँमा आधुनिक शौचालय बनाउने योजना अघि बढाएको छ । सार्वजनिक रुपमा प्रयोगका लागि उपत्यका विभिन्न ठाउँमा अनुगमन गरी मर्मत र नयाँ पनि बनाउने महानगरको योजना रहेको छ ।
महानगरले पहिलोपटक सार्वजनिक शौचालय सञ्चालन र व्यवस्थापन मार्गदर्शन, २०७५ तयार पारेको छ । अधिकारसम्पन्न समिति गठन गरेर शौचालयको व्यवस्थापन गर्दै आएको महानगरले पहिलोपटक यससम्वन्धि निर्देशिका नै बनाएर योजना अघि बढाएको हो ।
मार्गदर्शन पारित नभएपनि कसरी काम गर्ने भन्ने विषयमा भने छलफल भइरहेको महानगरले जनाएको छ ।
महानगरले शौचलयलाई अशक्त तथा अपांग मैत्री पनि बनाउने योजना अघि सारेको छ । भौतिक गुणस्तर तथा सेवा सञ्चालन स्तर निर्धारण गरेर महिला, बालवालिका, ज्येष्ठ नागरिक, अपांग लगायतको सहज पहुँच पुग्ने किसिमको शौचालय बनाउने महानगरले बताएको छ ।
कस्ता शौचालय बन्दैछन् त ?
मार्गदर्शन अनुसार मुख्य गरेर महानगरले शौचालयहरुलाई २ भागमा विभाजन गरेको छ । एउटा बनावटको आधारमा र अर्को सुविधाका आधारमा ।
महानगरले आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक शौचालयहरुलाई नगर कार्यपालिकाले निर्णय गरी तीन किसिमले पुनः वर्गीकरण गर्नेछ । बनावटका आधारमा पुनः सानो, मझौला र ठूलो गरी तीन किसिमका शौचालय निमार्ण हुनेछन् ।
त्यसैगरी सुविधाका आधारमा निर्माण हुने शौचालयलाई पनि पुनः तीन किसिमले नै वर्गीकरण गरिने महानगरले बताएको छ । महानगरका अनुसार सुविधाका आधारमा निर्माण हुने शौचालय एउटा सामान्य किसिमका हुनेछन् भने अर्को आधुनिक शौचालय हुनेछन् ।
महानगरले त्यसैगरी स्वचालित शौचालय (इ–ट्वाइलेट) समेत बनाउने मार्गदर्शनमा समेटेको छ । यस्तो शौचालयमा दिशा धुन हात प्रयोग गर्नु नपर्ने सुविधा रहने छ।
यसरी महानगरले उपत्यका विभिन्न ठाँउमा तिन प्रकारका सार्वजनिक शौचालय निमार्ण र पून निमार्णको योजनाका साथ निर्देशिका बनाएको छ । अब कसैलाई पनि घरबाट बाहिर निस्किदा शौचालयको समस्या हुने छैन् ।











