
बाँके। भारतमा पनि कोरोना भाइरस देखिएपछि त्यहाँबाट नेपाल फर्किनेको भिड लागेको छ । नेपाल– भारत सीमामा एकैदिनमा हजारौं मानिसहरु भारतबाट नेपालका विभिन्न नाका हुँदै नेपाल भित्रिरहेका छन् ।
त्यसरी नेपाल प्रवेश गर्नेमाथि सीमामा कडाइ पनि भएकोछ । शनिवार बाँकेको नेपालगञ्ज हुँदै दाङ प्रवेश गर्न लागेका २६ जना भारतीय नागरिकलाई उतै फिर्ता पठाइएको छ ।
नेपालगञ्जबाट गाडी रिजर्भ गरेर आएका उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँबाट फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
दमारगाउँमा स्थापना गरिएको हेल्थडेस्कमा सोधपुछ गर्दा उनीहरुले आफूहरु इँटा भट्टामा काम गर्ने मजदुर भएको र भारतको नानपाराबाट आएको बताएका थिए ।
अहिले भारतका विभिन्न राज्यमा कोरोनाका कारण चारजनाको मृत्यु हुनका साथै करिब ३ सय संक्रमित भएकाले भारतबाट आउने नागरिकबाट नेपालमा संक्रमण फैलिने उच्च संभावना रहेकाले उनिहरुलाई उतै फिर्ता पठाइएको हो ।
तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर प्रवेश गर्ने दमारगाउँ र टरिगाउँ विमानस्थल गरी दुई स्थानमा कोरोनालाई मध्यनजर गर्दै हेल्थडेस्क स्थापना गरेको हेल्थ डेस्कमा खटिएका जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिए ।
यसैगरी, उता कंचनपुरको गड्डाचौकी नाकाबाट एकैदिनमा हजारौं मानिसहरु भारतबाट नेपाल भित्रिएका छन् । शनिवार ६ घण्टामा १३ हजार नेपाल भित्रिएको सीमा नाका गड्डाचौकीले जनाएको छ ।
यसरि हजारौंको संख्यामा हुलका हुल भारतबाट नेपाल भित्रिन थालेपछि कोरोना संक्रमणको उच्च जोखिम भएको भन्दै सूदुरपश्चिमवासी चिन्तित भएका छन् । त्यहाका नागरिकले तुरुन्तै नाका बन्द गर्नुपर्ने माग समेत राखेका छन् ।









