
सप्तरी । सप्तरीका दुई वटा गाउँलाई सिल गरिएको छ । दिल्लीबाट फर्केका दुई जना जमातीको र्यापिड परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि दुई वडालाई सिल गरिएको हो ।
जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले खड्क नगरपालिकाको वडा नम्बर ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ लाई सिल गरेको हो ।
स्थानीय सरकारले पोजिटिभ देखिएका व्यक्तिको पारिवारका सदस्यको समेत र्यापिड टेस्ट गरिने र कन्ट्याक्ट ट्रेसिङ गर्ने निर्णय गरेको छ ।
दिल्लीबाट फेर्केर घरमा बसरिरहेका ८ जनालाई मंगलबार प्रहरीले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर र्यापिड परीक्षण गराएको थियो । परीक्षणका क्रममा दुई जनाको रिर्पोट पोजिटिभ आएको अस्पतालले जनाएको छ ।
अस्पतालले पोजिटिभ र नेगिटिभ रिर्पोट आएका सबैको स्वाब पूनः परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइसकेकाे छ ।
दिल्लीमा सबै भन्दा बढी कोरोना फैलिएको निजामुदिन बाटै उनीहरु पनि आएकाले स्थानीयमा त्रास बढेको छ । उनीहरु त्यहाँबाट आएर क्वारेन्टाइनमा बस्नुको साटो घरमै लुकेर बसेका थिए । यसले ठुलो दुर्घटना निम्ताउन सक्ने स्थानीयले बताएका छन् ।










