प्रधानमन्त्रीलाई देउवाले भने :अपहरण शैलीमा सांसद काठमाडौं ल्याउनेलाई कारवाही गर्नुहाेस्

काठमाडौं । विवादित अध्यादेश फिर्ता भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा देउवाले अध्यादेश फिर्ता लिएर गल्ती सच्चाएकोेमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन् । साथै उनले समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनेलाई कारबाही गर्न माग गरेका छन् ।

देउवाको सचिवालयका अनुसार देउवाले एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन संलग्न भएका व्यक्तिलाई कारबाही गर्नुपर्ने माग देशभरि उठेको बताएका छन् । उनले देशमा कानुनी राज्य भएकाले निष्पक्ष अनुसन्धान गरी कारबाही हुनुपर्ने माग प्रधानमन्त्री समक्ष राखेका छन् ।

त्यस्तै देउवाले देशमा कोरोना परीक्षणलाई व्यापक बनाउनु पर्ने माग पनि राखेका छन् । उनले समुदाय स्तरमा व्यापक परिक्षण गर्न ढिलो नगर्न पनि आग्रह गरेको सचिवालयले जनाएको छ ।

कोरोनाकै विषयमा उनले स्वास्थकर्मीलाई पीपिइ लगायतका सामग्री अझै पर्याप्त भएकाले यथासिघ्र ती सामाग्रीको व्यवस्था गर्नु पर्ने बताएका छन् । यसका साथै उनले भने, ‘उपचारमा खटिने स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम कतिपयले गरेको सुनिन्छ, त्यसलाई तुरुन्तै रोक्नुपर्छ ।’

देउवाले लकडाउनमा अप्ठेरोमा परेका श्रमिकलाई कि यतै खान दिनुपर्ने नभए गाउँ जान दिनुपर्ने बताए । ‘राहत घोषणा अधुरो भयो, पुग्नु पर्नेकोमा अझै पुगेन। श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठुला सबै ब्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनोस्,’ देउवाले भने।

देउवाले विदेशमा रहेका नेपालीलाई उद्दार गर्नेबारे तत्काल योजना सार्वजनिक गर्न र कार्यान्वयन थाल्न पनि माग गरे। उनले देश कोरोनासँग लडिरहेका बेला सबैले मिलेर जानुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार