काठमाडौंमै स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न साझा पार्टीको माग


काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको उपचार खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न साझा पार्टीले माग गरेको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै साझा पार्टीले स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार, अमानवीय र आपराधिक भएको भन्दै कारवाही गर्न माग गरेको हो ।

त्यस्तै विज्ञप्तिमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै जाँदा राजधानी काठमाडौँसहित देशका विभिन्न भागमा पछिल्ला दिनमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूमाथि दुर्व्यवहार भएका समाचारप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘यति ठूलो जनस्वास्थ्य संकटको समयमा पर्याप्त सेवा सुविधाको अभावका बावजुद आवश्यक विश्रामसमेत नलिई विरामीहरूको सेवामा अहोरात्र खटिईरहेका स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गरिनुपर्नेमा उल्टै आफ्नै छरछिमेकबाट उनीहरूमाथि सामाजिक विभेद र दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार हो,’ साझा पार्टीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साझा पार्टीका शरदराज पाठकद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘विपद्को यो घडीमा उच्चतम मानवीय संवेदना प्रदर्शन गर्दै समाजको हरेक अर्को सदस्यको कठिनाईमा सक्दो सहयोग गर्नु र चिकित्सकसहित सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई प्रोत्साहन गर्नु हरेक नागरिकको कर्तव्य हो। सबै नागरिकले त्यसो गरेमामात्र कोभिड १९ विरुद्धको हाम्रो साझा लडाईँ केही सहज हुनेछ।’

साझा पार्टीले स्वास्थ्यकर्मी तथा कोरोना संक्रमित व्यक्तिमाथि अनावश्यक आशंकाका आधारमा दुर्व्यवहार र भेदभावजन्य कृयाकलाप कसैले गरेमा त्यस्ता व्यक्ति वा समूहमाथि तत्काल कानूनी कारवाही सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

त्यस्तै साझा पार्टीले देशभरका स्वास्थ्यकर्मीहरूले सुरक्षित र सम्मानित महसुस गर्ने अवस्था बनाईराख्न आवश्यक भूमिका खेल्न आफ्ना सदस्य, शुभेच्छुक तथा आम सर्वसाधारणलाई अपील गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार