मेलम्ची बाढीमा हराएका ३ विदेशीको शव फेला, अझै १७ वेपत्ता

सिन्धुपाल्चोक । मेलम्ची बाढीमा वेपत्तामध्ये आज थप तीन जनाको शव फेला परेको छ । २ जना चिनियां र १ जना भारतिय नागरिकको शव फेला परेको प्रहरीले जनाएको छ । वेपत्ता २० जनामध्ये तीन जनाको शव फेला परेको हो ।

शव फेला परेका चिनियाँ नागरिक गोङ टियान छियो सिन्धुपाल्चोकको इन्द्रावती खोला किनारमा र अर्का चिनियाँ नागरिक यु चि झु र भारतीय नागरिक कमल लोचन महतोको शव सिन्धुलीको सुनकोसी नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।

मंगलबार राति आएको बाढीमा बेपत्ता भएका २० जना मध्ये अब हराइरहेका १७ जनामा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका १४ जना, दुई भारतीय र १ चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनिहरुको खोजी कार्य जारी रहेको छ ।

प्रशासनका अनुसार बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६६ वर्षीया टीकामाया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, हेलम्बु–३ की ५० वर्षीया साइली तामाङ, ६ का ५० वर्षीया च्याङा तामाङ र ४२ वर्षीया काली तामाङ छन् ।

त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, त्रिपुरासुन्दरी गाउँपालिका–१ का १९ वर्षीय विमल खत्री, १७ वर्षीय राम थापा, १६ वर्षीय सुवास जिरेल, १६ वर्षीय कमल खत्री, रेसमलाल साकी र हेमराज घिमिरे पनि बेपत्ता छन् ।

भारतीय नागरिक विजय वासुमन्तरी र जिनडाऔ वासुमन्तरी तथा चिनियाँ नागरिक सन यु चुवान बेपत्ता रहेको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

योसंगै मेलम्ची बाढीमा अहिलेसम्म १० जनाको शव भेटिएको छ ।  हिजो ७ जना र आज ३ जना गरी १० जनाको शव भेटिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार