
File pic
काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कानून सबैका निम्ती बराबर भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक जिल्ला कमिटिका पदाधिकारीलाई बनेपामा शनिवार सपथ खुवाउँदै मन्त्री बास्कोटाले भने, ‘कानूनी शासनभित्र कसैले पनि उन्मुक्ति पाउँदैन, कानून सबैलाई बाराबरी लाग्छ ।’
विधिको शासन स्थापित गर्न सरकार दत्तचित्त रहेकोमा कसैलाई शङ्का नगर्न उनले आग्रह समेत गरे । मन्त्री बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रशासनलाई चुनौती दिएर गल्ती गरिरहेको दाबी गरे ।
“एकातिर सुशासन स्थापनाको माग गर्ने, अर्कोतिर २२ जनालाई जिउँदै भट्टामा हाल्ने आरोप खेपेका मान्छेलाई गिरफ्तार गर्दा राज्यसंयन्त्र प्रयोग गरेर दुःख दियो, सुशासन खोइ भनेर प्रश्न गर्ने तपाईहरुको नैतिकता कहाँ हरायो ?” काङ्ग्रेसलाई उनले प्रश्न गरे ।
सुशासनमाथि आक्रमण नगर्न उनले चेतावनीसमेत दिए।
केही समयअघि सभामुखको घटना आउँदा रमाउने र कानूनी राज ठीक लाग्यो भन्ने काङ्ग्रेस २२ जनालाई जिउँदै भट्टामा हालेर मार्नेलाई गिरफ्तार गर्दा कानूनी शासन भएन, दमन गरियो, भन्ने लोकतान्त्रिक संस्कार कुन हो भन्दै मन्त्री बास्कोटाले प्रश्न गरे।
मन्त्री बाँस्काटाले गलत विषय समाजमा स्थापित नहुने भएकाले भ्रममा नपर्न काङ्ग्रेसलाई सुझाव पनि दिए ।
“यो कम्यूनिस्ट पार्टीले निर्माण गरेको सरकार हो सत्ता होइन, त्यसैले यहाँ कानूनी राज चल्छ, यो कानूनी राजभित्र कसैले उन्मुक्ति पाउँदैनन्,” उनले भने।














