
काठमाडौं । सर्वोच्च अदालतले जेष्ठ नागरिकलाई कोरोना विरुद्धको दोस्रो डोज खोप उपलब्ध गराउन सरकारलाई अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मंगलबार सो आदेश जारी गरेका हुन् ।
सरकारले फागुन २३ मा ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई पहिलो डोज खोप लगाएको थियो । जेठ १५ सम्म पनि दोस्रो डोज खोप लगाउन नपाएपछि नागरिक अभियन्ता चिरञ्जिवी बासगिरीले सर्वोच्चमा रिट हालेका थिए ।
उनको रिटमा न्यायाधीश खतिवडाको इजलासले अन्तरिम आदेश र कारण देखाउ आदेश जारी गरेको छ । मुद्दामा अधिवक्ता किर्तिनाथ शर्मा पौडेल, विकास भट्टराई र अमिता गौतम पौडेल लगायतले बहस गरेका थिए । आदेशसँगै यसअघि पहिलो खोप लगाएका १३ लाख वृद्ध, वृद्दाले खोप लगाउन पाउने बाटो खुलेको छ ।











