कालिकोटमा विपन्न परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण


कालिकोट । किर्डाक नेपालले कालिकोटको पलाँता गाउँपालिकामा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । बि.एम.जेड जर्मनीको आर्थिक सहयोग, मिसन ईस्टको प्राविधिक सहयोग र पलाँता गाउँपालिकाको समन्वयमा किर्डाक नेपालद्धारा संचालित बि.एम.जेड ००२ परियोजनाको ‘कोभिड–१९ चरण- २’ अन्र्तगत पलाँता गाउँपालिकाको वडा न. १, २, ३, ७, ८ र ९ का १०० घरधुरीलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

किर्डाक नेपालद्धारा संकलन गरिएको तथ्यांकका आधारमा वडा कार्यालयबाट छनौट गरिएका विपन्न, एक महिला घरमुली भएको परिवार, अपांगता भएको व्यक्तिको परिवार र कोभिड संक्रमित परिवारलाई राहात सामाग्री वितरण गरिएको किर्डाकले जनाएको छ ।
पलाँता गाउँपालिका वडा न. १ मा साउन ५ गतेदेखि सुरु भएको राहात वितरण कार्यक्रम वडा न. ९ मा आज सम्पन्न भएको हो ।

जनप्रतिनिधीहरु, वडा कार्यालयका कर्मचारीहरु, स्थानीय बुद्धिजिवीहरु र लाभग्राहीको उपस्थितीमा सम्पन्न भएको वितरण कार्यक्रममा कोभिड-१९ को सुरक्षा मापदण्डको पालना गरिएको थियो ।

प्रति परिवारलाई २५ किलोग्राम चामल, २ किलोग्राम दाल, २ किलोग्राम चिनी, २ किलोग्राम चना, २ लिटर तेल, १ किलोग्राम नुन, १ प्याकेट सर्जिकल मास्क, दुई सय मिलिलिटरको १ बोतल स्यानीटाइजर र पन्चानब्बे ग्रामको ४ वटा नुहाउने साबुन वितरण गरिएको छ। प्रति परिवार ३ हजार २३४ रुपैया १३ पैसाका दरले जम्मा रु ३ लाख २३ हजार ४ सय १३ बराबरको सामाग्री वितरण गरिएको परियोजना संयोजक पदम कठायतले जानकारी दिए ।

राहात वितरणका कार्यक्रममा उपस्थित वडा न। २ का अध्यक्ष बिरी विकले वास्तविक घरपरिवारहरुलाई राहात वितरण गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार