अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पारस खड्काद्धारा घोषणा

काठमाडौं । पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जाल मार्फत आफूले सन्यास लिएको घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने जनाएका छन् ।

उनले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ । ‘मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौँ भन्ने विश्वास लिएको छु ।’

खड्काले सन् २००२ देखि क्रिकेट यात्राको सुरुआत गरेका  थिए । यू -१५ टोलीबाट क्रिकेट खेल्न थालेका उनले सन् २००९ देखि २०१९ सम्म नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरे ।

खड्काले राष्ट्रिय टिमको क्याप्टेनबाट १५ अक्टोबर २०१९ मा राजीनामा दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार