
काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख सापकोटाको राजीनामा मागेका हुन् ।
एमालेले बैठक अवरुद्ध गर्नेक्रममा बोल्दै सांसद श्रेष्ठले अवरुद्ध संसद सुचारुका लागि सभामुख सापकोटाले मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् ।
‘कुनै पनि ब्यक्ति कुर्सीमा बसिसकेपछि त्यसको मर्यादा कसैले उलंघन गर्नु हुँदैन् । त्यो कुर्सीको गरिमालाई जोगाउनुपर्छ, यदि कुर्सीको मर्यादा जोगाउन सकिन्छ भने, त्यो कुर्सीको महत्व बुझ्न सकिन्न भने त्यस्तो ब्यक्ति त्यो कुर्सीमा बस्न लायकको हुदैन् । हामीले भनेका छौं, तत्काल उहाँले एउटा निकास दिनुपर्छ, त्यो भनेको राजीनामा दिनु हो’, सांसद श्रेष्ठले भने ।
गैर सांसदलाई सदनमा बस्न अनुमति सभामुखले दिएको भन्दै सडकदेखि सदनसम्म प्रश्न उठेको सांसद श्रेष्ठको भनाइ छ ।
सभामुखले जसपा सांसद सरिता गिरी, माओवादी सांसदहरू लेखराज भट्ट, प्रभु साह, गैरिशंकर चौधरी र टोपबहादुर रायमाझीलाई कारबाही पत्र पाएलगत्तै कारबाही गर्ने तर एमालेका सांसद कारबाही परेको सूचना नटाँसेको भन्दै विभेद गरिएको श्रेष्ठको भनाइ थियो ।
सभामुखले राजीनामा नदिए वा सूचना नटाँसे सदन चल्न नसक्ने सांसद श्रेष्ठले जानकारी समेत दिए ।











