साफ च्याम्पियनसिप फुटबल उपाधिका लागि आज नेपाल र भारत भिड्दै

काठमाडौं । तेह्रौं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र भारत भिड्दैछन् । खेल आज राति पौने नौ बजे मालदिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।

भारत लिग चरणको विजेताको रुपमा र नेपाल उपविजेताको रुपमा फाइनलमा भिड्न लागेका हुन् । भारतले समूह चरणमा दुई जित र दुई बराबरीको नतिजा सहित ८ अंक बटुलेको छ । नेपालले २ जित, एक बराबरी र एक हारको नतिजा सहित ७ अंक प्राप्त गरेको छ ।

नेपाल पहिलोपटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको हो भने भारतले यहि प्रतियोगिता सात पटक सम्म जितेको छ । तर यस पटक भने प्रतियोगिता भर भारतको कमजोर खेल देखिएको छ ।

पहिलो खेलमा बंगलादेशसँग १–१ को बराबरी खेलेको भारत दोस्रो खेलमा श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकियो थियो। प्रतियोगिताबाट बाहिरिने खतरामा रहेको भारतले त्यसपछि भने नेपाल र माल्दिभ्सलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

नेपालको खेल भने यसपटक निकै सुधारिएको देखिन्छ । तर फाइनल खेलमा नेपाली टिमका एक महत्वपुर्ण खेलाडी अन्जन विष्टले खेल्न नपाउने भएपछि केहि खल्लो महशुस पक्कै हुनेछ । अन्जनले लगातार दुईवटा खेलमा पहेंलो कार्ड पाएका कारण उनले फाइनल खेल गुमाउने भएका हुन् ।

बंगलादेशविरुद्धको खेलमा अञ्जनले नै पिनाल्टीमार्फत बराबरी गोल फर्काएपछि नेपाल साफ च्याम्पियनसिपको इतिहासमै पहिलोपटक फाइनलमा गएको थियो ।

भारतलाई हराएको इतिहास
साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल इतिहासमा नेपालले भारतलाई दुई पटक हराएको छ । नेपालले सन् १९९३ मा बंगलादेशको ढाकामा भएको खेलमा नेपालले भारतलाई पेनाल्टीमा हराएको थियो । त्यसपछि भारतलाई सन् २०१३ मा २–१ ले हराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार