फाइनल खेलमा मलाई प्रतिबन्ध लगाउनु भनेको भारतले जितोस् भन्ने हो– नेपाली प्रशिक्षक अल्मुताइरी


काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई प्रतिबन्ध लगाइएको छ । लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका अल्मुताइरीलाई आज भारतविरुद्ध हुने फाइनल खेलमा साफले प्रतिबन्ध लगाएको हो ।

साफको नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख छ ।

नेपालका अन्जन विष्टले भने लगातार दुई खेलमा पहेंलो कार्ड पाएकाले उनले भारतविरुद्धको फाइनल खेल गुमाउने यसअघि नै पक्का थियो । भारतका प्रशिक्षक स्टिमाचले पनि बंगलादेशविरुद्धको खेलमा रातो कार्ड नै पाएकाले उनले पनि नेपालविरुद्ध हुने फाइनल खेल गुमाउने पक्का थियो । तर नेपालका प्रशिक्षक अल्मुतारीलाई समेत फाइनल खेलमा प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई दिएको छ ।

साफको निर्णयमा प्रशिक्षक अल्मुताइरी असन्तुष्ट
साफले गरेको निर्णयमा नेपाली प्रशिक्षक अल्मुताइरीले असन्तुष्टि जनाएका छन् । उनले साफको उक्त निर्णय नियमविपरीत र अन्यायपूर्ण भएको प्रतिक्रिया दिएका छन् ।

साफको निर्णयपछि आज बिहान भर्चुअल पत्रकार सम्मेलन गर्दै प्रशिक्षक अल्मुताइरीले यो निर्णय भारतले खेल जितोस् भन्ने चाहनाबाट प्रेरित भएको दावी गरेका छन् ।

‘मलाई लाग्छ उनीहरु (साफ पदाधिकारीहरु) नेपालको नतिजाबाट खुसी नहुन सक्छन् । उनीहरुलाई नेपालले नजितोस् भन्ने लाग्छ । मैले त्यो महसुस गरिरहेको छु’, प्रशिक्षक अल्मुताइरीले भने ।

भारतीय प्रशिक्षकको गल्तीमा आफुलाई पनि सजाय दिइएको उनको तर्क छ ।
‘बंगलादेशविरुद्धको खेलपछि रेफ्रीमाथि आक्रमण भएको थियो, उनीहरुलाई के सजायँ भयो ?’ अलमुताइरीले प्रश्न गरेका छन्, ‘भारतीय प्रशिक्षक रिसायो भनेर नेपालको प्रशिक्षकलाई सजायँ दिने ? आफैंले बनाएको नियम नमान्ने हो भने नियम किन बनाउने’, अल्मुताइरीले भने ।

आफु मैदानमा नभएपनि नेपाली टिमले जित्ने समेत उनको दावी छ ।

अल्मुताइरीले नेपाली टिमलाई साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा पुर्याएका थिए । बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल साफको फाइनलमा पुगेर आज राती पौने ९ बजे मालदिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा भारतसंग उपाधीका लागि भिड्दैछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार