
काठमाडौं । साफ च्याम्पियनसिप २०२१ को उपविजेता बनेको नेपाली फुटबल टिमलाई भव्य स्वागत गरिएको छ। माल्दिभ्सबाट आज बिहान स्वदेश फर्किएको नेपाली टिमलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले विमानस्थलमा भव्य स्वागत गरेका हुन् ।
टिमलाई माला, खादा लगाएर ब्यान्ड बाजा बजाएर स्वागत गरिएको थियो। विमानस्थलमा एन्फाका पदाधिकारी तथा फुटबल प्रेमीहरुको बाक्लो उपस्थिती थियो ।
प्रमुख प्रशिक्षक अब्दुल्लाह अम्मुताइरी भने टिमसंग नेपाल फर्किएनन् । उनि परिवारसँग छुट्टी मनाउन कुवेत गएका कारण फर्किका होइनन् ।
साफ च्याम्पियनसिपमा नेपाली टिमले पहिलो पटक फाइनल पुग्दै इतिहास रचेको थियो। फाइनलमा भने भारतसँग ३-० ले पराजित भई उपविजेता बनेको थियो ।
फाइनल खेलमा प्रशिक्षक अल्मुताइरीलाई साफले प्रतिबन्ध गरेका कारण खेलाडीहरुमा नराम्रो असर परेको थियो । आफुमाथिको प्रतिबन्धको अल्मुताइरीले शसक्त विरोध जनाएका थिए ।












