आजदेखि निर्वाचन आचार संहिता लागू, सामाजिक सञ्जालमा उम्मेदवार र दलले मात्र प्रचार गर्न पाउने


काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि आचार संहिता लागू गरेको छ । आयोगले आज पत्रकार सम्मेलन गर्दै बैशाख ३० गते हुने स्थानिय चुनावका लागि आजैदेखि आचार संहिता लागू जनाएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागू हुने जानकारी दिएका हुन् ।

निर्वाचन आचार संहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने आयोगले जनाएको छ । दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले प्रष्ट पारेको छ ।

झोला, टिसर्ट, क्याज जस्ता सामाग्री छाप्न र वितरण गर्नसमेत आयोगले रोक लगाइएको जनाएको छ ।

त्यस्तै आचारसंहिता लागू भएपछि वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेकका कार्यक्रम गर्न, नयाँ नीति, योजना र कार्यक्रम घोषणा गरी स्वीकृत गर्न रोक लगाएको छ।

आचारसंहिता लागू भएपछि कुनै योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न तथा अध्ययनका लागि अनुदान दिनसमेत रोक लगाइएको छ। त्यस्तै निर्वाचनको कामबाहेक कर्मचारीको सरुवा र पदस्थापनासमेत गर्न नपाइने संहितामा उल्लेख छ । आयोगको अनुमतिबेगर सरकारी कर्मचारी र पदाधिकारी विदेश भ्रमणमा जानसमेत मिल्दैन ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउन आयोगले सरकार, संवैधानिक निकाय, अर्धसरकारी संस्था, राजनीतिक दल, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्था, विद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, मतदातालगायतले पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार