
काठमाडौं । सरकारले सामुदायिक माध्यामिक विद्यालयमा स्वास्थ्य परिचारिकाको व्यवस्था गर्ने भएको छ । आज संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले प्रदेश र स्थानीय तहको सहकार्यमा सरकारी विधालयमा स्वास्थ्य परिचारिकाको ब्यवस्था गर्ने भएको हो ।
यस्तै मदरसा शिक्षालाई आधुनिक प्रणालीसँग आवद्ध गर्न कानुनी व्यवस्था गरिने समेत सरकारले आफ्नो आगामी नीति तथा कार्यक्रमा समावेश गरेको छ।
कक्षा ९ देखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रम निर्माण गरी प्राविधिक तथा व्यवसायिक विषयलाईसमावेश गरिने राष्ट्रपति भण्डारी बताइन् ।
शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई रोजगारीसँग र रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नको लागि पढ्दै कमाउँदै कार्यक्रम थप विस्तार गरिने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ।
दलित, अल्पसंख्यक, लोपोन्मुख जातजाति, पिछडिएको क्षेत्र तथा हिमाली क्षेत्र र आर्थिक रुपले विपन्न परिवारका बालबालिका र विशेष आवश्यकता भएका बालबािलकाको गुणस्तरीय शिक्षामा पहुँच पुर्याउन प्रदेश तहमा आवसीय विद्यालय सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै गुम्बा, मदरसा गुरुकुलले लगायतले सञ्चालन गर्ने शैक्षिक कार्यक्रममा दिँदै आएको अनुदानलाई विद्यार्थी संख्या र सञ्चालन तह कक्षासँग आवद्ध गर्ने सरकारले घोषणा गरेको छ ।












